
प्रधानमन्त्री निवास बालुवाटारमा २०७७ माघ २९ आयोजित समाज कल्याणपरिषद् र पाँचवटा विभिन्न विश्वविद्यालयबीच परियोजना मूल्याङ्कन सम्बन्धी समझदारी पत्रको हस्ताक्षर कार्यक्रम सम्पन्न भएको छ । सो कार्यक्रममा प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति के पी शर्मा ओलीले अध्ययन, अनुगमन र मूल्याङ्कनकार्यले परियोजनालाई नतिजामुखी र परिणाममुखी बनाउने बताउनुभएको छ । विश्वविद्यालय उत्तीर्ण उत्कृष्ट विद्यार्थीबाट परियोजनाको मूल्याङ्कन गराउँदा परियोजनाहरू परिणाममुखी हुने र विद्यार्थीले आफ्नो ज्ञानको दायरा समेत फराकिलो बनाउन सहयोग पुग्ने विश्वास उहाँले व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, “यो नयाँ कामको थालनी समेत हो । अध्ययनबाट पुस्तकका ज्ञान मात्रै होइन, विद्यार्थीमा समाज बुझ्न, ज्ञान, सीपको विकास गर्नसमेत सहयोग पुग्ने छ ।” सरकारले राष्ट्रिय आकाङ्क्षाका रूपमा अगाडि बढाएको ‘समृद्ध नेपाल, सुखी नेपाली’ वैज्ञानिक र अत्यन्तै सही नीति भएको उहाँले चर्चा गर्नुभयो । हजारौँ वर्ष अघि स्वीकार गरिएको ‘सर्वे भवन्तु सुखिन’ ज्ञानकै निरन्तरताका रूपमा रहेको ‘समृद्ध नेपाल, सुखी नेपाली’ नीतिले मुलुक हिँड्ने बाटो र गन्तव्यबारे पनि स्पष्ट पारेको बताउनुभयो ।
कार्यक्रममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री तथा समाज कल्याण परिषद्का अध्यक्ष जुली कुमारी महतो, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्ण गोपाल श्रेष्ठ, सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङ, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री लीलानाथ श्रेष्ठको सहभागिता थियो । नेपाल संस्कृत विश्वविद्यालयका उपकुपति प्रा.डा.यादव प्रकाश लामिछानेका साथै पाँचवटा विश्वविद्यालयका उपकुलपतिहरु उपस्थिति रहेको सो कार्यक्रममा नेपाल संसकृत विश्वविद्यालयका तर्फवाट उक्त समझदारीपत्रमा कुलसचिव माधव अधिकारी र परिषद्का तर्फबाट सदस्य सचिव पुष्कर खातीले हस्ताक्षर गर्नुभएको थियो । उक्त सम्झौता अनुसार विश्वविद्यालयका विद्यार्थीले एक करोड रुपियाँ सम्मका परियोजनाको मूल्याङ्कन गर्न पाउने छन् । यस आर्थिक वर्षमा ५८७ परियोजनाको मूल्याङ्कन विद्यार्थी मार्फत गराइने छ । त्यस्तै तेस्रो पक्षबाट ५३२ परियोजनाको मूल्याङ्कन गराइने जनाइएको छ ।