नेपाल संस्कृत विश्वविद्यालय सभाको ७९औँ बैठक सम्पन्न, एक अर्ब ५८ करोड ५० लाखको बजेट पारित ।
बेलझुण्डी, दाङ। नेपाल संस्कृत विश्वविद्यालयको आर्थिक वर्ष २०८२/०८३ को वार्षिक शैक्षिक कार्यक्रम तथा आर्थिक वर्ष २०८३/०८४ को आय–व्यय (बजेट) पारित गर्ने प्रयोजनार्थ आयोजित विश्वविद्यालय सभाको ७९औँ बैठक आज माननीय शिक्षा तथा खेलकुदमन्त्री एवं नेपाल संस्कृत विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलज्यूको अध्यक्षतामा सम्पन्न भएको छ ।
बैठकले कार्यकारी परिषद् तथा प्राज्ञिक परिषद्सम्बन्धी नियुक्तिका प्रस्तावहरू पारित गर्नुका साथै आर्थिक वर्ष २०८२/०८३ को वार्षिक शैक्षिक कार्यक्रम र आर्थिक वर्ष २०८३/०८४ का लागि प्रस्तावित एक अर्ब ५८ करोड ५० लाख रुपैयाँको बजेटसमेत स्वीकृत गरेको छ ।
विश्वविद्यालयको अतिक्रमित जग्गासम्बन्धी विषयलाई विशेष प्राथमिकताका साथ छलफल गर्दै जग्गाको वास्तविक अवस्था र स्वामित्वसम्बन्धी विषयमा अध्ययन गर्न आधिकारिक समिति गठन गर्ने निर्णय भएको छ । उक्त समितिले विश्वविद्यालयको जग्गाको स्वामित्व नेपाल संस्कृत विश्वविद्यालयकै नाममा कायम हुने आधारसहित ठोस प्रतिवेदन तयार गरी कार्यान्वयनको प्रक्रियामा लैजाने निर्णयसमेत गरेको छ।
यसैगरी, वि.सं. २०७७ सालदेखि दीक्षित हुन बाँकी रहेका विद्यार्थीहरूलाई लक्षित गरी छैटौँ दीक्षान्त समारोह चालु आर्थिक वर्षभित्रै सम्पन्न गर्ने प्रस्ताव पनि सभाबाट पारित भएको छ ।
सभाले राष्ट्रगुरु योगी नरहरिनाथ अनुसन्धान तथा नवप्रवर्तन केन्द्र स्थापनासहितका प्रस्तावहरू समेत पास गरेको छ । साथै विश्वविद्यालयको अर्को महत्त्वपूर्ण अङ्गका रूपमा रहेको आयुर्वेद अध्ययन संस्थान र यसअन्तर्गतका निकायमार्फत सामुदायिक स्वास्थ्य क्लिनिक, स्वास्थ्ययोजना, जडीबुटी प्रशोधन तथा जनस्तरमा स्वास्थ्य र आहारविहारसम्बन्धी चेतनामूलक कार्यक्रमहरू समेत सञ्चालन गरिने योजना अगाडि सारिएको छ। बैठकले नेपाल संस्कृत विश्वविद्यालयको आयोजनामा अन्तर्राष्ट्रिय योग सम्मेलन ‘ग्लोबल योग समिट २०२६/२७' (Global Yoga Summit 2026/27) आयोजना गर्ने प्रस्तावलाई समेत स्वीकृति प्रदान गरेको छ ।