बेलझुण्डी, दाङ — २०८३/०६/०८
नेपाल संस्कृत विश्वविद्यालयको समग्र शैक्षिक, प्राज्ञिक, अनुसन्धानात्मक तथा प्रशासनिक गतिविधिलाई थप व्यवस्थित, प्रभावकारी र परिणाममुखी बनाउने उद्देश्यले विश्वविद्यालयका विभिन्न अङ्ग–निकाय तथा महाशाखाका प्रमुखहरूसँग छलफल गरिएको छ।
नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा.डा. भीम प्रसाद खतिवडाज्यूको अध्यक्षतामा तथा शिक्षाध्यक्षज्यू र कुलसचिवज्यूको विशिष्ट उपस्थितिमा सम्पन्न छलफलमा केन्द्रीय कार्यालय परिसरअन्तर्गतका विभिन्न अङ्ग–निकायका प्रमुखज्यूहरू तथा महाशाखा प्रमुखज्यूहरूको सहभागिता रहेको थियो।
छलफलका क्रममा विश्वविद्यालयको वर्तमान शैक्षिक तथा प्रशासनिक अवस्था, कार्यसम्पादनमा देखिएका चुनौती, आपसी समन्वय, जिम्मेवारीको प्रभावकारी कार्यान्वयन तथा आगामी दिनमा विश्वविद्यालयको संस्थागत उन्नयनका लागि अवलम्बन गर्नुपर्ने विभिन्न उपायका विषयमा विस्तृत विचार–विमर्श भएको थियो।
छलफलमा विश्वविद्यालयको पुस्तकालयलाई विश्वविद्यालयको गरिमा र आवश्यकताअनुकूल आधुनिक, व्यवस्थित तथा स्रोतसम्पन्न बनाउने विषयलाई विशेष प्राथमिकताका साथ अघि बढाउने निष्कर्ष निकालिएको छ। पुस्तकालयलाई अध्ययन, अध्यापन तथा अनुसन्धानको प्रभावकारी आधारका रूपमा विकास गर्ने र विद्यार्थी, शोधार्थी तथा प्राध्यापकका लागि आवश्यक शैक्षिक स्रोतसामग्रीको सहज उपलब्धता सुनिश्चित गर्ने विषयमा समेत जोड दिइएको थियो।
त्यसैगरी विश्वविद्यालयको मौलिक प्राज्ञिक पहिचानलाई अझ सुदृढ बनाउन अनुसन्धान, ग्रन्थ प्रकाशन तथा ग्रन्थ सम्पादनका कार्यलाई विशेष प्राथमिकता दिने विषयमा छलफल भएको थियो। विश्वविद्यालयबाट हुने अनुसन्धानलाई थप गुणस्तरीय, उपयोगी र परिणाममुखी बनाउँदै संस्कृत वाङ्मय, पूर्वीय ज्ञानपरम्परा तथा समसामयिक विषयमा अनुसन्धानको दायरा विस्तार गर्ने विषयमा समेत जोड दिइएको थियो।
शोधकार्य सम्पन्न गरिसकेका शोधार्थीहरूले भोगिरहेका विभिन्न समस्या तथा प्रक्रियागत जटिलताको समाधानका लागि विश्वविद्यालयले आवश्यक पहल र सहजीकरण गर्ने विषयलाई पनि छलफलले महत्व दिएको छ। शोधार्थीका समस्या पहिचान गरी सम्बन्धित निकायमार्फत यथाशीघ्र समाधानतर्फ अघि बढ्ने वातावरण निर्माण गर्ने विषयमा जोड दिइएको थियो।
समयको मागअनुसार विश्वविद्यालयका शैक्षिक तथा प्रशासनिक कार्यमा सूचना प्रविधिको अधिकतम र प्रभावकारी उपयोग गर्ने, डिजिटल प्रणालीको विस्तार गर्ने तथा कार्यालयीय कार्यसम्पादनलाई प्रविधिमैत्री बनाउने विषयमा पनि छलफल भएको थियो।
त्यसैगरी विश्वविद्यालयको पठनपाठन प्रक्रियालाई थप व्यवस्थित, गुणस्तरीय र प्रभावकारी बनाउने, शिक्षण सिकाइका आधुनिक विधि तथा प्रविधिको प्रयोग बढाउने र विद्यार्थीको शैक्षिक उपलब्धिलाई केन्द्रमा राखेर शैक्षिक वातावरण सुधार गर्ने विषयलाई प्राथमिकतामा राख्ने निष्कर्ष निकालिएको छ।
आयुर्वेद शिक्षण, अध्ययन, अनुसन्धान तथा यससँग सम्बन्धित शैक्षिक गतिविधिलाई थप व्यवस्थित र प्रभावकारी बनाउने विषयमा पनि विश्वविद्यालयले विशेष महत्वका साथ काम अघि बढाउने निष्कर्ष छलफलबाट निकालिएको छ।
छलफलमा विश्वविद्यालयका सबै अङ्ग, निकाय तथा महाशाखाबीच प्रभावकारी समन्वय, सहकार्य र सूचना आदान–प्रदान कायम गर्दै कार्यसम्पादनलाई चुस्त, दुरुस्त र परिणाममुखी बनाउने विषयमा जोड दिइएको थियो। साथै सम्बन्धित निकाय तथा पदाधिकारीले आफ्नो जिम्मेवारी समयमै सम्पन्न गर्ने, निर्णयको प्रभावकारी कार्यान्वयन गर्ने तथा कार्यसम्पादनमा देखिएका समस्या समयमै पहिचान गरी समाधानका लागि पहल गर्ने विषयमा समेत जोड दिइएको थियो।
विश्वविद्यालयको संस्थागत विकासका लागि आपसी आग्रह, पूर्वाग्रह तथा संकीर्णताभन्दा माथि उठेर संस्थागत हितलाई सर्वोपरि राख्दै सहकार्य र जिम्मेवारीबोधका साथ अघि बढ्नुपर्ने विषयमा समेत छलफल भएको थियो।
छलफलका क्रममा उपकुलपति प्रा.डा. भीम प्रसाद खतिवडाज्यूले विश्वविद्यालयको समग्र विकासका लागि शैक्षिक उत्कृष्टता, अनुसन्धानको विस्तार, ज्ञान–सिर्जना, ग्रन्थ प्रकाशन, प्रविधिको उपयोग तथा प्रभावकारी प्रशासनलाई प्राथमिकतामा राखेर अघि बढ्नुपर्ने बताउनुभयो। उहाँले विश्वविद्यालयको गरिमा र भविष्य निर्माणमा सबै अङ्ग–निकाय तथा कर्मचारीको समान जिम्मेवारी रहने उल्लेख गर्दै आफ्नो जिम्मेवारीलाई निष्ठा, अनुशासन र परिणाममुखी ढङ्गले सम्पादन गर्न आग्रह गर्नुभयो।
छलफलबाट विश्वविद्यालयलाई गुणस्तरीय शिक्षा, अनुसन्धान, ज्ञान–सिर्जना, ग्रन्थ प्रकाशन तथा प्रविधिको समुचित प्रयोगमार्फत सशक्त प्राज्ञिक केन्द्रका रूपमा विकास गर्दै लैजाने दिशामा आवश्यक कार्ययोजना तथा कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाउने निष्कर्ष निकालिएको छ।
कार्यक्रमको सहजिकरण सचिवालयका सदस्य सन्तोश लम्सालले गर्नु भएको थियो भने टिपोट शाखा प्रमुख बिनय पोख्रेल र अनिल पोख्रेलले गर्नु भएको थियो ।