२०८३।०६।१३ बेलझुण्डी, दाङ ।
नेपाल संस्कृत विश्वविद्यालय, आयुर्वेद अध्ययन संस्थान अन्तर्गत केन्द्रीय आयुर्वेद विद्यापीठ तथा शिक्षण अस्पतालको आयोजनामा दाङको बेलझुण्डीमा निःशुल्क बृहत् विशेषज्ञ आयुर्वेद स्वास्थ्य शिविर सम्पन्न भएको छ । केन्द्रीय आयुर्वेद विद्यापीठ तथा शिक्षण अस्पताल परिसरमा आयोजित उक्त स्वास्थ्य शिविरको प्रमुख अतिथिका रूपमा नेपाल संस्कृत विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा.डा.जगन्नाथ रेग्मी तथा वरिष्ठ अतिथिका रूपमा विश्वविद्यालयका कुलसचिव प्रा.डा.नवराज कट्टेलले गर्नु भएको थियो । कार्यक्रममा पूर्व उपकुलपति एवं अनुसन्धान केन्द्रका निर्देशक, विश्वविद्यालय विद्यापीठका प्राचार्य, आयुर्वेद अध्ययन संस्थानका सहायक डिन, क्षेत्रीय आयुर्वेद अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट, विश्वविद्यालयका विभिन्न महाशाखा तथा शाखा प्रमुखहरू तथा पत्रकार लगायतका अतिथिहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको सभापतित्व केन्द्रीय आयुर्वेद विद्यापीठका प्राचार्य डा.मङ्गलाकान्त झाले गर्नुभएको थियो । शिविरमा विभिन्न विधाका आयुर्वेद विशेषज्ञ चिकित्सकहरूबाट निःशुल्क स्वास्थ्य परीक्षण, विशेषज्ञ परामर्श तथा आवश्यक स्वास्थ्य सेवा प्रदान गरिएको थियो। उक्त शिविरबाट करिब ४५० जना सेवाग्राहीले विशेषज्ञ आयुर्वेद स्वास्थ्य सेवा प्राप्त गरेका थिय । कार्यक्रमका विषयमा प्रकाश पार्दै केन्द्रीय आयुर्वेद विद्यापीठका शिक्षक डा. सुरेन्द्र चौधरीले स्वास्थ्य शिविरको उद्देश्य, आवश्यकता तथा विश्वविद्यालयबाट प्रदान हुँदै आएको आयुर्वेद स्वास्थ्य सेवाका विविध पक्षबारे जानकारी गराउनुभएको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै शिक्षाध्यक्ष, कुलसचिव तथा कार्यकारी परिषद् सदस्यले नेपाल संस्कृत विश्वविद्यालयको समग्र विकाससँगै आयुर्वेद तथा संस्कृत क्षेत्रको श्रीवृद्धि र विकासलाई प्राथमिकताका साथ अघि बढाउनुपर्ने धारणा व्यक्त गर्नु भएको थियो । विश्वविद्यालयलाई थप सुदृढ, व्यवस्थित, जनमुखी र परिणाममुखी बनाउँदै आयुर्वेद एवं संस्कृत क्षेत्रको विकासका लागि सबै पक्षको रचनात्मक सहयोग आवश्यक रहेको उहाँहरूले बताउनु भएको थियो । उहाँहरूले विश्वविद्यालयबाट सञ्चालित ओपिडी सेवालाई स्थानीय जनसमुदायसँग अझ प्रत्यक्ष रूपमा जोड्नुपर्नेमा विशेष जोड दिनुपर्ने वताउनु भएको थियो भयो । आयुर्वेद शिक्षा, अनुसन्धान र स्वास्थ्य सेवालाई एकीकृत रूपमा अघि बढाउँदै जनताको स्वास्थ्य आवश्यकतासँग जोड्न सकेमा विश्वविद्यालयको सामाजिक उत्तरदायित्व अझ प्रभावकारी हुने उहाँहरूको भनाइ थियो । कार्यक्रमको सहजीकरण केन्द्रीय आयुर्वेद विद्यापीठका कविराज प्रेम खड्काले गर्नुभएको थियो ।