नेपाल संस्कृत विश्वविद्यालय

संस्कृत शिक्षालाई उच्चतम तहसम्म सुव्यवस्थित गर्न

संस्थापक प्राचार्य पं छविलालका स्मृतिमा गुरुपुत्रकै सौजन्यमा विद्यापीठ प्रवेशद्वार निर्माण प्रारम्भ ।

Published on : Oct 12, 2026

संस्थापक प्राचार्य पं छविलालका स्मृतिमा गुरुपुत्रकै सौजन्यमा विद्यापीठ प्रवेशद्वार निर्माण प्रारम्भ ।

आश्विन २५, धरान
पिण्डेश्वर विद्यापीठ धरानका संस्थापक कीर्तिशेष पं छविलाल पोखरेलको सम्झनामा उहाँका पुत्र नारायण प्रसाद पोख्रेलको सौजन्यमा विद्यापीठको मूल प्रवेशद्वार निर्माणकार्यको शुभारम्भ आज आश्विन २५, घटस्थापनाका शुभावसरमा  नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति  प्रा.डा. भीम खतिवडाबाट विधिपूर्वक शिलान्यास सु सम्पन्न भयो । प्रवेशद्वार निर्माणकार्यारम्भ सभामा संस्थापक प्राचार्य पं छविलालका कनिष्ठ पुत्र नारायणप्रसाद पोख्रेल समुपस्थित हुनुहुन्थ्यो ।
शिलान्यास समारोहलाई सम्बोधन गर्दै उपकुलपति खतिवडाले विवेकले काम गर्न र सदसत् तथा कर्तव्याकर्तव्य छानेर मात्र कुनै पनि कार्यसम्पादन गर्न संस्थापक गुरु पं छविलाल पोख्रेलले सबैलाई सधैँ सचेत गराउनुभएको स्मरणका साथ  गुरुप्रति हार्दिक श्रद्धाभाव प्रकट गर्दै वहाँकै स्मृतिसम्मानमा छविलाल बालमाया प्रतिष्ठानका अध्यक्ष तथा गुरुपुत्र अग्रज  नारायणप्रसादले विद्यापीठमा प्रवेशद्वार निर्माण गरिदिनुभएकामा कृतज्ञता व्यक्त गर्नुभयो । शिलान्यास सभालाई सम्बोधन गर्ने क्रममा उपकुलपति प्रा.डा.खतिवडाले विद्यापीठ प्रशासन तथा प्राध्यापक मित्रहरूलाई भौतिक निर्माणसँगै गुणस्तरीय पठनपाठन र अनुसन्धानतर्फ ध्यान केन्द्रित गर्न आग्रह गर्नुभयो । सहप्रा।डा।भवानीशङ्कर भट्टराईद्वारा सञ्चालित संक्षिप्त सभामा विद्यापीठका प्राचार्य सहप्रा।काशीनाथ पौडेलले पाँचलाख लागतमा आधुनिक र परिपक्व प्रवेशद्वार निर्माण हुने कुरा बताउँदै सौजन्यका लागि पं।छविलाल गुरुका परिवारजनप्रति अझ विशेष गरी अग्रज नारायणप्रसादप्रति आभार व्यक्त गर्नुभयो । गुरुपुत्र नारायणप्रसादले पं।छविलाल पोख्रेलका भाषा, दर्शन र साहित्यसम्बद्ध स्तरीय कृतिहरू पाठ्यक्रममा समावेश गर्नेतर्फ उपकुलपतिको ध्यानाकर्षण गराउँछु भन्नुभयो । यस सन्दर्भलाई उपयुक्त सुझाबका रूपमा ग्रहण गर्दै उपकुलपति खतिवडाले विद्यापीठ परिवार,  विद्यापीठबाट प्राज्ञिक परिषद् र विभिन्न विषय समितिमा रहेका सदस्यहरू तथा यस्ता उच्च निकायमा प्रतिनिधित्व गर्ने पिण्डेश्वर विद्यापीठका उत्पादनहरूमार्फत् उपयुक्त समयमा प्रस्तुत गर्न सुझाउनुभयो ।
उक्त शिलान्यास समारोहमा नेसंवि, उपकुलपति कार्यालयका योजना महाशाखा प्रमुख सुरज लामा, भाषाविद् प्रा।डा।टङ्कप्रसाद न्यौपानेलगायत विद्यापीठका प्राध्यापक, कर्मचारी र शुभकर्मपद्धतिमा विद्यार्थीको समेत सहभागिता रहेको थियो ।