परिचय

नेपालमा संस्कृत शिक्षालाई उच्चतम तहसम्म सुव्यवस्थित गर्न, संस्कृत विद्याले विविध क्षेत्रमा प्राप्त गर्दै आएका विशेष उपलब्धिहरुलाई समयानुसार अध्ययन, अनुसन्धान, संरक्षण र सम्वद्र्धन गर्न एवम् परम्परागत धर्म, नैतिक मान्यता, सदाचार र सच्चरित्रताको परिपालना गर्दै नेपाललाई संस्कृत विद्याको ज्ञान र प्रेरणा प्राप्त गर्ने केन्द्रका रुपमा विकास गर्न र नेपाल राज्यमा अति प्राचीन कालदेखि नै प्रचलनमा रहेको संस्कृत विद्याको गौरवमय परम्परालाई निरन्तरता दिनको लागि आजभन्दा वत्तीसौं वर्ष अगाडि अर्थात् २०४३ सालमा संस्कृत विश्वविद्यालयको स्थापना भएको थियो ।
त्रिभुवन विश्वविद्यालय अन्तर्गतको तत्कालीन संस्कृत अध्ययन संस्थानद्वारा सञ्चालित मुलुकभरका पाँचवटा विद्यापीठलाई समेटेर स्थापना भएको यस विश्वविद्यालयले विभिन्न प्राज्ञिक, शैक्षिक र व्यवस्थापकीय चुनौतीहरुको सामना गर्दै वत्तीसौं वसन्त पार गरेको छ । पाँचवटा विद्यापीठमा संस्कृत तर्फका शास्त्रीय विषयका साथै आधुनिक विषयका मुख्यतः नेपाली, राजनीतिशास्त्र, अर्थशास्त्र, हिन्दी र मैथिलीजस्ता विषयहरुबाट यात्रा प्रारम्भ गरेको विश्वविद्यालयले हाल शास्त्रीय विषयतर्फ चारै वेद, प्राच्य राजशास्त्र, नीतिशास्त्र, तन्त्र, बौद्ध दर्शन, प्राच्य धर्मदर्शन, योग प्राकृतिक चिकित्सा आदिका साथै आधुनिक २१ विषयका रुपमा युगसापेक्ष अङ्ग्रेजी, गणितका साथै आयुर्वेद विषयको प्रवीणता प्रमाणपत्र तह र स्नातक (बी.ए.एम.एस.) का अतिरिक्त विज्ञान विषयको उत्तरमध्यमा तहको समेत पठन–पाठन सुचारु गर्दै आएको छ । त्यस्तै संस्कृतबाट उत्पादित जनशक्तिको ठूलो संख्या माध्यमिक शिक्षातर्फ पनि खपत हुने हुँदा यही मान्यतालाई ह्दयङ्गम गरी विश्वविद्यालयले मुलुकका विभिन्न क्षेत्रमा आङ्गिक र सम्बन्धन प्राप्त विद्यापीठ तथा शिक्षण संस्थाहरुमा एकवर्षे शिक्षा शास्त्री स्नातक (बी.एड्.) को पठन–पाठन सुचारु गर्दै आइरहेको छ, प्रतिफल पनि राम्रो आइरहेको अनुभव गरिएको छ ।
यद्यपि विद्यार्थी संख्याको दृष्टिकोणले साह्रै ठूलो फड्को मार्न नसकेको वर्तमान परिस्थिति रहे तापनि विश्वविद्यालयले प्राचीन वाङ्मयको संरक्षण र सम्वद्र्धनको गुरुत्तर दायित्व बोकेकाले सानै कलेबरबाट गुणस्तरीय दक्ष जनशक्तिको उत्पादन गर्ने लक्ष्य लिई अगाडि बढिरहेको वास्तविकता कसैबाट छिपेको छैन । आज विश्वविद्यालयको कलेवरमा १५ वटा आङ्गिक विद्यापीठ र १३ वटा विभिन्न विषयका सम्बन्धन प्राप्त विद्यापीठ समाहित भइसकेका छन् भने भविष्यमा यो क्रम बढ्दै जाने आशा एवं विश्वास विश्वविद्यालयले राखेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *