ने.सं. वि.को दीर्घकालीन रणनीति

आजको बद्लँदो विश्वपर्यावरणका विचमा नेपाल संस्कृत विश्वविद्यालयलाई पनि युगानुकूलन गर्दै जनजीविका प्रदान गर्न सक्ने विषयतर्फ पनि विस्तार गर्दै लैजान सक्नुपर्दछ । केही समय पहिलेदेखि नै यो प्रक्रिया सुरु गर्नसकेको भए आज यो विश्वविद्यालय जुन प्रकारको दुरावस्थाको सिकार भएको छ । त्यस प्रकारको दयनीय अवस्थामा पुग्न नदिन पनि सकिंदो हो । किन्तु आज मुलुक राजनीति सङ्क्रमणकाल पारगरेर नेपाली जनताले आशा गरे अनुसारको स्थिर सरकार, स्थिर नीति, स्थिर प्रशासनिक संयन्त्र प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्दै आएको वर्तमान् सरकारले शिक्षातर्फ पनि स्थिर नीति अख्तियार गर्न लागेका परिपे्रक्ष्यमा नेपाल संस्कृत विश्वविद्यालयलाई निम्न प्रकारले विकास गरे नेपाल र नेपाली जनताको आवश्यकता परिपूरण गर्दै यसले विश्वविरादरीका विचमा पनि हाम्रा पुर्खा र हाम्रो पुरुषार्थलाई विस्तार गर्न सक्ने देखिन्छ ।
१, संस्कृत विषयक्षेत्रमा रहेका प्राविधिक र अप्राविधिक विषयको छुट्टाछुट्टै पठनपाठन गर्ने व्यवस्था मिलाइनु पर्दछ । यसमा रहेका शास्त्रीय विषय हुन्– नव्यन्याय, तथा प्राचीन न्याय, नव्य व्याकरण,तथा प्राचीन व्याकरण, साहित्य, जैन दर्शन, बौद्ध दर्शन, वेदान्त दर्शन, पूर्वमीमांसा दर्शन र उत्तर मीमांसा दर्शन, फलित ज्योतिष तथा सिद्धान्त ज्योतिष, धर्मशास्त्र, पुराणेतिहास, तन्त्र शास्त्र, कर्मकाण्ड, वेद, सर्व दर्शन, सांख्य दर्शन,योग दर्शन, लोकायतनिक दर्शन (चार्वाक दर्शन) वेद र दर्शनमा रहेका विज्ञानपक्षमा जोडदिंदै महाविद्यालयमा शास्त्री र आचार्यका कक्षाको व्यवस्था मिलाउनु पर्ने देखिन्छ । यसरी नै संस्कृत वाङ्मयमा रहेका प्राविधिक तथा जीवनोपयोगी विषय हुन् ः– आयुर्वेद, स्थापत्यवेद (वास्तु,शास्त्र, मुहूर्तशास्त्र, र आर्किटेक्चर इन्जिनियरिङलाई समायोजन गरी बनाएको पाठ्यक्रम) योगविज्ञान, योगशास्त्र, प्रकृतिक चिकित्सा, फलित ज्योतिष, कर्मकाण्ड, जडिबुटी, साम वेद ( सङ्गीत तथा नृत्य) जीवनविज्ञान र प्राकृतिक चिकित्सा ।
२, आधुनिक विषयका क्षेत्रमा पनि अनेक विषयका कुरा संश्लीष्ट गरेर पढिने (कम्परेटिभ स्टडी डिपार्टमेन्ट) खोलेर नेपाली, अङ्ग्रेजी अर्थशास्त्र राजनीति शास्त्र, कानुन, इतिहास भूगोल र सामाजशास्त्रहरूका समूह निर्माण गरेर बहुविषयको ज्ञान दिन सकिन्छ । यसरी नै आधुनिक विषयको आवश्यक्तानुसार व्यवस्था मिलाउँदै लैजानु पर्ने अवस्था टड्कारिंदोछ । त्रि.वि.को मानविकी सङकाय र संस्कृतको शास्त्रीय विषयमा शिक्षार्थीको रुचि रहेको देखिन छाडेको वर्तमान परिस्थितिलाई रमिते बनेर पुरानै कुराको रट लाएर बस्नु उचित हुँदैन । अतः ग्रामीण अर्थशास्त्र,आयुर्वेद, फलित ज्योतिष, विकास अध्ययन (रुलर्डेभ्लपमेन्ट)जस्ता विषयलाई मिसाएर एउटा विषय बनाएर पढाउन सकिन्छ र यो युगको माग अनुकूल पनि हुन्छ ।
३,संस्कृत वाङमयमा भएका प्राविधिक र अर्थकरी विधाका विषयलाई कक्षा ९देखि नै व्यवस्थित गरेर पढाउँदै लागी उच्च शिक्षाका निमित्त बहुविकल्पात्मक विषयको सुविधा दिनुपर्दछ । जस्तै कक्षा ९ देखि कक्षा १२ सम्म यदि विद्यार्थीले परिचयात्मक किसिमले आयुर्वेद,स्थापत्यशास्त्र, (भवनइन्जिनियरिङ, वास्तुशास्त्र र ज्योतिषको शुभाशुभविचारसँग सम्बद्ध पक्षका कुरा मिलाएर बनाएको पाठ्यक्रम) योगविज्ञान, (लाइफ साइन्स्) योगविज्ञान तथा प्राकृतिक चिकित्सा, (यौगिक साइन्स् एन्ड नेचुरोप्याथी)कर्मकाण्ड, (वर्तमान नेपालका पुरोहितहरू कर्मकाण्डको दर्शन बताउन सक्दैनन् । अतः यसलाई दर्शनयुक्त बनाएर जीवनोपयोगी शैक्षिक सामग्रीका रूपमा विकास गर्न सकिन्छ) फलित ज्योतिष, (यसलाई आधुनिक विद्युतीयसन्चारका माध्यमसम्म पनि पु¥याएर शिक्षार्थीलाई सहज जीविकोपार्जनको अवसर दिलाउँछ ) सिद्धान्त ज्योतिष, (यो गणित तथा तथ्याङ्कशास्त्रको विषय भएकाले यो सबै प्रकारका वैज्ञानिक विषयको आधारभूमि हो) वैदिक कृषि,यसलाई आधुनिक भाषामा अर्गेनिक र्फािर्मङ भनिन्छ ( विषादि प्रयोग विना नै बालिनाली सपार्ने विधिको ज्ञान गराइन्छ) सङ्गीत, (वाद्यपरिचय,नृत्यपरिचय र गात्रविक्षेपको सामान्यबाट क्रमिक रूपले विशिष्ट बन्दै सामवेदमा पुग्नेगरी बनाइएको पाठ्यक्रम ) षड्दर्शन (यसमा तिनवटा आस्तिक र तिनवटा नास्तिक दर्शृन पर्दछन् ) यसको पठनपाठनलाई व्यवस्थित गरेर प्रचुर मात्रामा विश्वका विद्यार्थीको ध्यान नेपाली शैक्षणिक परिसरतिर तान्न सकिन्छ । संस्कृतका प्राविधिक विषय जस्तै आयुर्वेद, जरीबुटी, नाडिविज्ञान, प्राकृतिक चिकित्सा, योगविज्ञान, व्यायामशास्त्र,सङ्गीतशास्त्रलाई कक्षा ९देखि नै कक्षा १२सम्म एच्छिक र अनिवार्य विषयका रूपमा सबैले पढ्नैपर्ने गरी माध्यमिक तहको पाठ्यक्रम बनाउनु र लागू गर्नुपर्दछ । यस प्रकारको पठनले दसवर्षमा देशलाई चाहिने ज्ञान, विज्ञान, कला, दर्शनका क्षेत्रमा हामी विश्वलाई सिकाउन सक्ने गुरु बन्न सक्छौं ।
४, संस्कृत विभाग या भाषाविभागः ने.सं. वि.मा विश्वका कतिपय मुलुकबाट संस्कृत भाषा र पौरस्त्य दर्शन (फिलोसफी) पढ्न आउँछन् तर हामी तिनलाई केही वेदका ऋचा र केही ४००० वर्षभन्दा पहिलेको व्याकरणका फर्मुला पढाएर पठाउँछौ अतः यसलाई परिमार्जन गरी संस्कृत भाषाविज्ञानविभाग खोलेर विदेशी विद्यार्थीलाई छुट्टै ढङ्गले पढाउनुपर्छ । लिपि विज्ञान विभागको व्यवस्था गरी प्राचीन सामग्रीको अध्ययन विश्लेषण गर्ने मानवीय संसाधन विकास गर्न सकिन्छ ।
५, यसको केन्द्रीय कार्यालय दाङ बेल्झुन्डीमा एउटा आधुनिक सुविधायुक्त अनुसन्धाता आवास निर्माण गर्नुपर्दछ । आयुर्वैदिक अस्पताल निर्माणको पनि आवश्यक्ता छ । डिप बोरिङ गरेर या ग्वारखोलाको कुलो ल्याएर भए पनि बेलझुन्डीलाई पर्याप्त पानी दिनसक्नुपर्दछ । अन्तर्राष्ट्रिय छात्रावास र महिला छात्रावासको पनि अभाव रहेकाले अक्सफोर्ड, महर्षि, वोत्सेभेनिया, सम्पूर्णानन्द, वेल्जिङ जस्ता विश्वविद्यालयसँग ने.सं.वि.ले सहकार्यका योजना अघि बढाएर पनि क्रियान्वयन गर्न अप्ठ्यारो परिरहेको छ । प्राध्यापक आवास गृहको पनि अभाव भएकाले यतातिर आगामी दिनका पदाधिकारी तथा सरकारको पनि ध्यान जानुपर्ने अवस्था रहेको छ ।
६, आधुनिक सुविधायुक्त कम्तीमा पनि ६० जना बसेर छल्फल गर्न सकिने सभासहितको ८वटा कोठाको अनुसन्धान केन्द्रको निर्माण अत्यावश्यक छ ।
७, नेपालका १२५वटै संस्कृतिको अध्ययन अनुसन्धान गर्न खोलिएको सांस्कृतिक अध्ययन केन्द्र केबल हाकिम बनाएर जागिर खुवाउने केन्द्र मात्रै बनेर गएको देखिन्छ । प्रा डा जगमान् गुरुङ यसको कार्यकारी निर्देशक भएका बेलामा बाहेक यसले उल्लेख्य काम गरेकोे भटिएको छैन । अतः यसलाई अनुसन्धाताको आकर्षणको केन्द्र बनाएर अघि बढाउनुपर्दछ ।
८,नेपाल संस्कृत विश्वविद्यालयका सबैतिरका जमीनको संरक्षण र आयमूलक काममा लाउने नीति अख्तियार गरिनुपर्दछ । जनकपुर, मटिहानी, धरान र दाङदेउखुरीका अमूल्य जमीन अतिक्रमणलाई रोक्न सरकारले नै आवश्यक सहयोग नगरे विश्वविद्यालयले मात्रै यो काम पार लाउन सक्दैन ।
९, ने. सं. वि.को शैक्षिक क्यालेन्डर सुस्पष्ट गरी क्रियान्वयन गर्नुपर्दछ ।
१०, आधुनिक बोटानिकल साइन्स र प्राचीन पौरस्त्य वनस्पति शास्त्रलाई मिलाएर वनस्पति अध्ययन शास्त्र र सङ्कायको विकास गर्न सकिन्छ ।
११,नाट्य र चलचित्रको पाठ्यक्रम बनाएर पनि पौरस्त्य नाट्यरङ्गको विकास गर्न सकिन्छ । पौरस्त्यवाद्य, नृत्य र आधुनिक सङ्गीतको विकास गर्न पनि सकिन्छ ।
१२, वाल्मीकि विद्यापीठमा मात्र शिक्षक कर्मचारीको भिड लाग्ने भएकाले अन्य विद्यापीठलाई पनि सुविधासम्पन्न बनाउने नीति अख्तियार गरे यो प्रवृत्ति निरुत्साहित हुनसक्ने देखिन्छ ।
१३, नेपाल संस्कृत विश्वविद्यालय प्रगतिपथमा लाग्न नसक्नाका कारणहरूमध्य एउटा प्रमुख कारण शिक्षक कर्मचारिले गर्ने वर्गीय राजनीति र त्यसको संरक्षण दलहरूले गरेकाले पनि हो । योग्य सक्षम र इमान्दार तथा राम्रो मान्छेको खोजीभन्दा हाम्रो मान्छेको खोजी गर्ने प्रवृत्ति हावी रहुन्जेल विश्वविद्यालय सुध्रने लक्षण देखिंदैन । हिजो अस्थिर राजनीतिक व्यवस्था र अस्थायी सरकार भएका बेलाको भागबन्डा अब पाँचवर्षे सरकारले पालन गर्नु आवश्यक छैन । तर यसका निमित्त एक अवधि पूरा गर्न दिने नदिने चाहिं सरका कै तजविज हो ।
१४,संस्कृतका विषयको पठनपाठन अहिले नेपाली भाषाका माध्यमले गरिंदै आएको पाइन्छ । यसलाई रोकेर संस्कृतका विषयको पढाइ संस्कृत भाषाकै माध्यमले र अन्य कतिपय आधुनिक विषयको पढाइ अङ्ग्रेजी या नेपालीमा गर्ने परिपाटि लागू गर्नुपर्दछ । यो लागू गर्दा अहिले भएकाले जागीर छाड्नुपर्ने स्थिति पनि पर्न सक्छ । संस्कृतको विद्यावारिधि नेपालीमा गर्नेगरेको पाइएकाले संस्कृतको अन्य भाषामा गर्न नपाइने गरी परिपत्र गर्दा निकै आलोचना र टीकाटिप्पणी भएकोथियो । यसरी हेर्दा विश्वविद्यालयको हालको जनशक्ति करिब ४०५ ं विश्वविद्यालयका निमित्त खासै उपयोगी देखिंदैन । यसमा शैक्षिक र प्रशासनिक दुवै जनशक्ति पर्दछन् । नेपाल संस्कृत विश्वविद्यालयमा बढी राजनीतिकरणको कारण स्थानीय विद्यार्थी र अभिभावक यस विश्वविद्यालयमा आकर्षित नहुनु पनि एउटा हो ।
१५, पदाधिकारी नियुक्ति गर्नुभन्दा पहिले योग्य, सक्षम, इमान्दार, उच्च नैतिकता भएको, प्रशासनिक र प्राज्ञिक क्षमता भएको आदि सबै कुरामा विचार गर्ने तर यो प्राज्ञिक क्षेत्र भएकाले उपकुलपतिलाई निर्देशन दिने, अल्झाउने, पचासथरीका कुरा गरेर नियन्त्रण गर्न खोज्ने जस्ता प्रवृत्तिको पुनरावृत्ति हुनुहुँदैन । सकेसम्म रजिष्ट्रार चाहिं अर्थशास्त्र या व्यवस्थापन शास्त्र पढेको मान्छे हुनुपर्छ जस्तो अनुभव भयो । शिक्षाध्यक्ष चाहिं संस्कृतको निष्णात विद्वान् हुपर्छ जस्तो लागो । उपकुलपति राष्ट्रिय अन्तर्राष्ट्रय शैशिक इतिहास बुझेर तदनुकूल आफू उपकुलपति भएका विश्वविद्यालयको शैक्षिक तथा बाह्यपक्षको योजना बनाउन सक्ने ल्याकतको छान्नु आवश्यक देखिन्छ ।
१६, आगामी १०देखि १५ वर्षका विचमा निरन्तर किसिमले उपर्युक्त कामको योजना प्राविधिक लाएर गरे नेपाल संस्कृत विश्वविद्यालय पनि अन्य प्राविधिक विश्वविद्यालयसरह नै आत्मनिर्भर हुनसक्ने देखिन्छ ।

प्रा डा कुलप्रसाद कोइराला
उपकुलपति
नेपाल संस्कृत विश्वविद्यालय, बेलझुन्डी, दाङ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *