नेपाल संस्कृत विश्वविद्यालय

संस्कृत शिक्षालाई उच्चतम तहसम्म सुव्यवस्थित गर्न

नेपाल संस्कृत विश्वविद्यालयका प्रमुख अङ्गहरू

  • १. परीक्षा नियन्त्रण कार्यालय

    नेपाल संस्कृत विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय भवन

    नेसंविअन्तर्गतका विद्यापीठहरूमा अध्ययन गर्ने विद्यार्थीहरूको पञ्जीकरण, अभिलेखन गर्ने तथा परीक्षासम्बन्धी सम्पूर्ण काम परीक्षा नियन्त्रण कार्यालयले गर्दछ । विश्वविद्यालयको केन्द्रीय परिसरमा यसको कार्यालय रहेको छ । यस कार्यालयको प्रमुखमा परीक्षा नियन्त्रक रहने व्यवस्था छ ।

  • २. आयुर्वेद अध्ययन संस्थान, डीनको कार्यालय

    नेपाल संस्कृत विश्वविद्यालय, आयुर्वेद अध्ययन संस्थान, डीनको कार्यालय

    विश्वविद्यालयमा आयुर्वेद, योग तथा प्राकृतिक चिकित्सासम्बन्धी विभिन्न तहको शिक्षण प्रशिक्षण, अध्ययन, अनुसन्धान, परीक्षा र पाठ्क्रमसम्बन्धी काम गर्ने गराउने उद्देश्यले आयुर्वेद अध्ययन संस्थानको स्थापना गरिएको हो । हाल यस कार्यालय मातहतमा आयुर्वेद उत्तरमध्यमा तह तथा आयुर्वेद स्नातक तहका कार्यक्रम सञ्चालित छन् । २०६७ सालमा स्थापित यस संस्थानको प्रमुखमा डीन रहने व्यवस्था गरिएको छ ।

  • ३. नेपाल संस्कृत विश्वविद्यालय सेवा आयोगको कार्यालय

    सेवा आयोगको कार्यालय

    नेपाल संस्कृत विश्वविद्यालयमा आवश्यक पर्ने शैक्षिक तथा प्रशासनिक जनशक्तिको भर्ना, छनोट, व्यवस्थापन, वृत्तिविकाससम्बन्धी कामको मूल्याङ्कन तथा बढुवाको सिफारिस गर्नका लागि सेवा आयोगको व्यवस्था गरिएको छ । यस आयोगको प्रमुखमा अध्यक्ष रहन्छन् भने अध्यक्षबाहेक लोकसेवाका प्रतिनिधिसहित लोकसेवा आयोगका सदस्यसहित अन्य दुई जना सदस्य रहने व्यवस्था छ । विश्वविद्यालयमा आवश्यक पर्ने जनशक्तिको व्यवस्थापन गरी विश्वविद्यालयसमक्ष सिफारिस गर्ने, नयाँ नियुक्ति र बढुवासम्बन्धी सिफारिस गर्ने काम यस आयोगले गर्दछ । यस आयोगको हालको कार्यालय दाङको बेलझुण्डीस्थित केन्द्रीय कार्यालयदेखि उत्तरतिर रहेको छ ।

  • ४. नेपाल संस्कृत विश्वविद्यालय अनुसन्धान केन्द्र

    संस्कृत विश्वविद्यालयमा अनुसन्धान तथा सम्पादनसम्बन्धी सम्पूर्ण कार्यहरूको व्यवस्थापन, सञ्चालन, नियन्त्रण र स्तरोन्नति गर्ने उद्देश्यले २०४८ सालमा अनुसन्धान केन्द्र स्थापना भएको हो । यस केन्द्रमार्फत् हाल उपाधिमूलक तथा निरुपाधिक गरी दुई प्रकारका अनुसन्धानात्मक कार्यक्रमहरू सञ्चालित छन् । अनुसन्धान केन्द्रको प्रमुख पदमा कार्यकारी निर्देशक रहने व्यवस्था छ ।
    अनुसन्धान केन्द्रले सञ्चालन गर्ने कार्यक्रमहरू यसप्रकार छन्ः

     ४.१ उपाधिमूलक कार्यक्रम
    नेपाल संस्कृत विश्वविद्यालय अनुसन्धान केन्द्रद्वारा सञ्चालित उपाधिमूलक कार्यक्रममा विद्यावारिधि (पिएच्.डी.) कार्यक्रम रहेको छ । शास्त्रीय विषयअन्तर्गत ऋग्वेद, यजुर्वेद, सामवेद, अथर्ववेद, व्याकरण, नव्यन्याय, प्राचीनन्याय, साहित्य, सिद्धान्तज्योतिष, फलितज्योतिष, इतिहास पुराण, पूर्वमीमांसा, शाङ्करवेदान्त, धर्मशास्त्र, सर्वदर्शन, तन्त्रयोग, बौद्धदर्शन, प्राच्यराज्यशास्त्र, वास्तुशास्त्र, योगदर्शन, आयुर्वेदजस्ता विभिन्न विषयमा विद्यावारिधि कार्यक्रम सञ्चालित छ । त्यस्तै आधुनिक विषयक्षेत्रका सबैजसो विषयमा विद्यावारिधि कार्य गराउने गरिएको छ भने आधुनिक विषयमा विद्यावारिधि गराउँदा संस्कृत वाङ्मयसँग सम्बद्ध शोधशीर्षक हुनुपर्ने व्यवस्था छ । हालसम्म यस अनुसन्धान केन्द्रबाट २०० जनाले विद्यावारिधि उपाधि प्राप्त गरिसकेका छन् भने २ सय २५ जना शोधार्थीले अनुसन्धान गरिरहेका छन् ।
    ४.२ निरुपाधिक कार्यक्रम
    नेपाल संस्कृत विश्वविद्यालय अनुसन्धान केन्द्रले विभिन्न निरुपाधिक कार्यक्रमहरू सञ्चालन गरिरहेको छ । नेपालका विभिन्न भाषाभाषी समुदायका धर्मसंस्कृति, परम्परा, सदाचार, नैतिकमूल्य र मान्यताका साथै विशेषगरी लोपोन्मुख संस्कृति एवम् भाषाहरूका बारेमा अनुसन्धान गराउनका लागि निरुपाधिक कार्यक्रमहरू सञ्चालन गरेको हो । यस्ता कार्यक्रमहरूमा ग्रन्थ–सम्पादन, अनुवाद, प्रकाशन, शोधार्थीको क्षमता वृद्धि, भौतिक सुविधा विकास आदि रहेका छन् ।

  • ५. राष्ट्रिय सांस्कृतिक अध्ययन केन्द्र

    नेपालका विभिन्न जात–जातिहरूका भाषा, साहित्य, धर्म र लोकसंस्कृतिको अध्ययन, अनुसन्धान र संरक्षणका निमित्त विश्वविद्यालय सभाले २०६२ सालमा नियम बनाई २०६७ सालमा औपचारिक रूपमा राष्ट्रिय सांस्कृतिक अध्ययन केन्द्र्रको स्थापना भएको हो । कार्यकारी निर्देशक यसको प्रमुख हुने व्यवस्था गरिएको छ ।

  • ६. नेपाल संस्कृत विश्वविद्यालय, स्थापत्यशास्त्र अध्ययन संस्थान

    नेपाल संस्कृत विश्वविद्यालय, स्थापत्यशास्त्र अध्ययन संस्थान लम्बिनी प्रदेशको पहिलो अध्ययन संस्थान हो । वि.सं. २०७८ सालमा स्थापना भएको यस अध्ययन संस्थानले प्रारम्भिक रुपमा आफूलाई विशेष रुपमा चिनाउन खोजेको छ । यस अध्ययन संस्थानले पूर्वीय दर्शन सिद्धान्तहरुमा आधारित अद्वितिय कार्यक्रमहरु प्रदान गर्दछ ।
    प्रविधिको परम्परागत दर्शनले इन्जिनियर र इन्जिनियरिङलाई धेरै हदसम्म बेवास्ता गर्छ, तर नेपाल संस्कृत विश्वविद्यालय स्थापत्यशास्त्र अध्ययन संस्थानले इन्जिनियरहरु, तिनीहरुको विधि, जिम्मेवारी र भविष्यलाई गम्भीरताका साथ लिन्छ । विश्व स्तरीय अभ्यासहरुले इन्जिनियरहरुको प्रतिबिम्बलाई उत्तेजित गर्ने निश्चत छ ।
    नेपाल संस्कृत विश्वविद्यालय स्थापत्यशास्त्र अध्ययन संस्थान गुणस्तरीय अनुसन्धान र उदार शिक्षामा विश्वास गर्छ । हाम्रो कार्यक्रमहरुले गणस्तरीय शिक्षण, विद्यार्थीमा आधारित शिक्षा, अन्तरक्रियात्मक सहभागिता र अन्तराष्ट्रिय संक्रमणलई जोड दिन्छ । यस संस्थानले इन्जिनियरिङ पेशासंग नजिकबाट काम गर्छ ।  
    थप जानकारीको लागि
    नेपाल संस्कृत विश्वविद्यालय स्थापत्यशास्त्र अध्ययन संस्थान, डिनको कार्यालय बेलझुण्डी, दाङ
    डिनः विरेन्द्र खड्का
    संपर्क नं.: ९८५११८९९८५