ने.सं.वि. अनुसन्धान केन्द्र र त्रि.वि. केन्द्रीय पुस्तकालयबीच सम्झौता
२०७८ श्रावण ३२ गते सोमवार ।
त्रि.वि. केन्द्रीय पुस्तकालयको अनलाइन स्रोतसामग्रीमा नेपाल संस्कृत विश्वविद्यालयका विद्यावारिधि शोधार्थीहरूको पहुँच पुर्याउनका लागि ने.सं.वि. अनुसन्धान केन्द्र र त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयबीच आज द्विपक्षीय सम्झौता सम्पन्न भयो । उक्त सम्झौतापत्रमा ने.सं.वि. अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक प्रा.डा.सुधनकुमार पौडेल र त्रि.वि केन्द्रीय पुस्तकालयका प्रमुख पूर्णलाल श्रेष्ठले हस्ताक्षर गर्नुभएको थियो । सम्झौताअनुसार त्रि.वि. केन्द्रीय पुस्तकालय र उक्त पुस्तकालयसँग सम्झौता गरेका बाह्य पुस्तकालय एवम् शैक्षिक प्रतिष्ठानहरूमा रहेका पाँच करोडभन्दा बढी अनलाइन पाठ्यसामग्रीहरू ने.सं.वि. अनुसन्धान केन्द्रका शोधार्थीहरूले न्यून शुल्कमा घरबाटै उपभोग गर्न पाउने छन् । यो सम्झौताबाट ने.सं.वि. अनुसन्धान केन्द्रको अनुसन्धान कार्यक्रमलाई थप स्तरीय, व्यवस्थित र अनुसन्धानस्रोतका दृष्टिले सम्पन्न तुल्याउन सहयोग पुग्ने विश्वास गरिएको छ । ने.सं.वि. अनुसन्धान केन्द्रअन्तर्गत हाल तीन सयभन्दा बढी शोधार्थीहरूले प्राच्य वाङ्मयसँग सम्बद्ध विविध विषयमा विद्यावारिधि अनुसन्धान गरिरहेका छन् ।