नेपाल संस्कृत विश्वविद्यालय

संस्कृत शिक्षालाई उच्चतम तहसम्म सुव्यवस्थित गर्न

Message From Vice Chancellor

पूर्वीय गोलार्धको यस विशाल भूखण्डमा संस्कृत भाषाभित्र अनादिकालदेखि सञ्चित रहँदै आएका मानवमात्रका लागि उपयोगी प्रज्ञासम्पत्तिको संरक्षण, सम्वर्धन र प्रवर्धन गर्दै नेपाललाई पूर्वीय एवम् पाश्चाŒय ज्ञानविज्ञानको अध्ययन अनुसन्धान केन्द्रका रुपमा विकसित तुल्याउने उद्देश्यले २०४३ सालमा नेपाल संस्कृत विश्वविद्यालयको स्थापना भएको हो । स्थापनायता राष्ट्रको बृहत्तर विकासमा ठोस योगदान पुर्याउने उद्देश्यले समयानुकूलका शैक्षिक तथा प्राज्ञिक योजनाहरु निर्माण गरेर देशलाई आवश्यक पर्ने उच्च शैक्षिक जनशक्ति उत्पादन गरी विश्वविद्यालयले सङ्घर्ष र उपलब्धिले भरिएका आफ्ना ३४ सौँ वर्षहरु पार गरिसकेको छ ।

यस विश्वविद्यालयमा वैदिक र लौकिक संस्कृत वाङ्मयभित्रका विभिन्न शास्त्रीय एवम् आधुनिक विषयविधाका साथै प्रायोगिक विधाहरू ज्योतिष, आयुर्वेद, योग र प्राकृतिक चिकित्सासमेतको अध्ययन अध्यापन भइरहेको छ । आगामी दिनमा वास्तुशास्त्र, इन्जिनियरिङ, पौरस्त्य कृषिविज्ञान एवम् विधिशास्त्रजस्ता विधाहरुमा पनि अध्ययन, अध्यापन, अनुसन्धान र प्रशिक्षणहरु सञ्चालन गरिने कार्यक्रम रहेको छ र सोअनुसारको तयारी पनि अगाडि बढेको छ ।

नेपाल बहुजातीय, बहुभाषिक तथा बहुसांस्कृतिक विशेषतासम्पन्न राष्ट्र भएकाले यस विश्वविद्यालयले हजाराँै हजार वर्षदेखि यहाँ अस्तित्वमा रहेका विविध धर्म, संस्कृति, सभ्यता, इतिहास, कला, वास्तुकला, रहनसहन, रीतिरिवाज तथा सयौँ जातजातिका भाषा भाषिकाहरुको अध्ययन, अनुसन्धान र संरक्षणका लागि सक्दो प्रयत्न गर्दै आइरहेको छ । प्राज्ञिक क्षेत्रबाट राष्ट्रिय विविधताको सम्मान गर्दै तिनको संरक्षणमा योगदान दिनु विश्वविद्यालयको कर्तव्य र दायित्वभित्रकै विषय हो ।

विश्वविद्यालयको उन्नति र प्रगतिको सपना त्यहाँ कार्यरत शिक्षक, कर्मचारी, विद्यार्थी र विश्वविद्यालयबाहिर रहेका हजारौँ हजार शुभेच्छुक एवम् हितैषीहरूको सामूहिक प्रयासबाट मात्र सार्थक हुन सक्छ । विश्वविद्यालयको समग्र शैक्षिक तथा प्राज्ञिक उन्नयनमा देश विदेशमा रहेका अन्य विश्वविद्यालय, उच्च शैक्षिक निकायहरु, उदारमना दाताहरु, शिक्षाप्रेमी तथा बौद्धिक वर्गको योगदान अपेक्षित छ । सौभाग्य नै भन्नुपर्छ, विगतदेखि नै संस्कृत विश्वविद्यालयले सबै सरोकारवालाहरूबाट निकै राम्रो साथ र सहयोग पाउँदै आएको छ । आगामी दिनमा पनि संस्कृत शिक्षाको विकास र विस्तारमार्फत हाम्रा प्राच्य ऋषिमहर्षिहरुको तपस्याबाट सिर्जित ज्ञानराशिलाई आम जनसमक्ष पु¥याउनका लागि यसरी नै रचनात्मक सहयोग प्राप्त हुने अपेक्षा गरेको छु । विश्वविद्यालयलाई अग्रगति दिनका लागि जनस्तरबाट प्राप्त रचनात्मक बौद्धिक सुझाव एवम् मार्गनिर्देशन सदैव स्वागतयोग्य छन् । हामी सबै मिलेर ‘संस्कृत र संस्कृत विश्वविद्यालय सबैका लागि’ भन्ने उद्घोषलाई सार्थक पारौँ ।

--प्रा.डा. यादवप्रकाश लामिछाने
--उपकुलपति